काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई उभिएर चुनावी बाचा सम्झाइरहेका अभियन्ता ईःसँग वार्ता गर्न काठमाडौं महानगरपालिकाले वार्ता टोली बनाएको छ।
प्रवक्ता तथा १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धरको नेतृत्वमा वार्ता टोली बनेको हो।
‘अहिलेसम्म मेरो मात्रै नाम प्रस्ताव भएको छ,’ प्रवक्ता मानन्धरले सेतोपाटीसँग भने, ‘अहिले मिटिङ छ, त्यसपछि सदस्य तय होला।’
अभियन्ता ईःले पनि वार्ताको जानकारी आएको र दिउँसोसम्म वार्ताकाे सम्भावना रहेको बताए।
‘अनौपचारिक माध्यमबाट प्रस्ताव आएको छ। अब हामी पनि वार्ताको टोली बनाउँछौं,’ ईःले सेतोपाटीसँग भने।
आजै बिहान उपमेयर सुनीता डंगोल अभियन्ता ईःलाई भेटेकी थिइन्। उनले फुटपाथ व्यवसायीलाई वैकल्पिक उपाय दिने नीति बनाउन पहल गर्ने बताएकी थिइन्। यद्यपि आफ्नो सीमित भूमिका रहेको पनि उनले बताएकी थिइन्।
अभियन्ता ईः गत मंगलबार दिउँसो १ बजेदेखि उभिएर फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएकोमा विरोध जनाइरहेका छन्।
उनी उभिएको १६५ घन्टापछि उपमेयर डंगोल आएर ई: लाई भेटेकी हुन्।