सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने भएको छ।
संघीयता पछि प्रदेशमा पहिलो पटक नेपाल प्रहरीको सुरक्षा गण स्थापना हुन लागेको हो।
गुर्भाकोट नगरपालिका –१४ गुमीमा गण स्थापना हुन लागेको हो। विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाको अस्थायी शिविर भएको जग्गामा विशेष सुरक्षा गण स्थापना गर्न लागिएको छ।
यसअघि उक्त जग्गा र संरचनामा सशस्त्र प्रहरीको एक टोली बसेको थियो। उक्त ठाउँमा गण स्थापनाका लागि साढे ४ विघा जग्गा नेपाल प्रहरीको नाममा आएको छ।
अहिले कर्णाली प्रदेशमा पनि नेपालगञ्जमा रहेको विशेष सुरक्षा गणले हेरिरहेको थियो। गुमीमा संरचना स्थापना र गण स्थापनाको काम सँगसँगै पूरा गरिने नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
उचित निर्णय नहुँदा र बजेटको व्यवस्थापन नहुँदा कर्णालीमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुन सकेको थिएन।
पछिल्लो पटक गण स्थापनाका लागि गुमीमा रहेका अस्थायी संरचनाहरूको मर्मत गरेर ३५ जना प्रहरी बसेका छन्। गणमा ५ सय जना प्रहरीको दरबन्दी रहेको छ।
कर्णाली प्रदेश सरकारले तत्काल मर्मत तथा आवश्यक संरचना निर्माणका लागि १ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार गण स्थापनाका लागि हाल गुमीमा प्रहरी तैनाथ गरिएको छ। सरकारले दिएको बजेटबाट तत्काल मर्मतपछि पूर्ण रूपमा प्रहरी बस्ने उनले बताए।
अहिले गुमीमा आएको गणको टोलीको नेतृत्व प्रहरी उपरीक्षक रामप्रसाद घर्तीले गरिरहेका छन्।
अहिलेका लागि गणअन्तर्गत हुनेगरी रूकुम (पश्चिम) को चौरजहारीमा ७५ जना र दैलेखको राकममा ५० जना प्रहरी परिचालन गरिने कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले बताए।
गुमीमा स्थापनार्थ कर्णाली प्रदेशस्तरीय नेपाल प्रहरी विशेष सुरक्षा गणको कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि बिहीबार अवलोकन गरेका छन्। खड्कासँगै प्रदेश सरकारका केही मन्त्रीहरूले पनि गण स्थापना हुने ठाउँको अवलोकन गरेका छन्। अवलोकनका क्रममा रक्षामन्त्री खड्काले कर्णालीमा प्रहरीको विशेष सुरक्षा गण सार्ने प्रक्रियामा आएका जटिलता धेरै रूपमा समाधान भइसकेकाले अबको बाँकी प्रक्रिया पनि सहज रूपमा पूरा गर्न सरकारले सहयोग गर्ने बताए।