नेकपा एकीकृत समाजवादीले आर्थिक मन्दीबाट आक्रान्त भएकाले समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ध्यानाकर्षण गराएको छ।
जनतामा व्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्वहरू सक्रिय भएको उसको ठहर छ।
एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।
'मुलुक आर्थिक मन्दीबाट आक्रान्त भएको हुँदा समाजमा निराशा, कुण्ठा र अराजकता विस्तारित भएको देखिन्छ। जनतामा व्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्वहरू हाम्रो समाजमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउनसमेत लागि परेका छन्। देशमा देखिएको चौतर्फी संकट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुन सक्छ,' ध्यानाकर्षण पत्रमा भनिएको छ।
अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय तथा मौद्रिक कदम चालियोस् भनेर पार्टीले ध्यानाकर्षण गरेको एकीकृत समाजवादीले बताएको छ।
'लोकतन्त्रहरूको स्थायित्व र विकासका लागि सबभन्दा प्रमुख कार्यभार पर्याप्त रोजगारीको सिर्जना र सुशासन हुन्। संविधानको निर्माणपछि हामीले मुलुकको समृद्धि र समाजवादको स्पष्ट योजनाका साथ अगाडि बढ्नुपर्थ्यो। राज्यका सबै नीति, योजना र कार्यक्रमहरू रोजगारी सिर्जना गर्न र सुशासन स्थापना गर्न केन्द्रित हुनुपर्थ्यो। कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उत्पादनका अन्य क्षेत्रहरू र विदेश नीतिसमेत बेरोजगारी र गरिबी उन्मूलन गर्न, औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको विकास गर्न, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन र संविधान बमोजिम न्यायपूर्ण वितरणको व्यवस्था गर्दै, सामाजिक विभेद अन्त्य गर्दै, राष्ट्रिय स्वाधिनता र एकताका साथ समृद्धि र समाजवादको आधार तयार गर्न सकिन्थ्यो,' समाजवादीले विज्ञप्तिमार्फत भनेको छ।
त्यसो नहुँदा आर्थिक समस्याहरूले राजनीतिक र राजनीतिक समस्याहरूले सामाजिक—आर्थिक समस्याहरूलाई अझ बढाउँदै लगेको एकीकृत समाजवादीको बुझाइ छ।