यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
११ असोज, काठमाडौं । स्पार्क एड्भेञ्चर २०२३ सुरू भएको छ । दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले ‘स्पार्क एड्भेञ्चर-२०२३’ आयोजना गरेको हो । बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजा सहित एडभेञ्चरको उद्घाटन गरिएको छ। उद्घाटनपश्चात २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरेको हो ।
सय थुम्काहरूको संगम शैलुङ धार्मिक पर्टकीय क्षेत्र समेत हो । यस्तै यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ’हिल स्टेसन’ हो । प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।
‘यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौँ,’ स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले भने ।
प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने आयोजकको भनाइ छ ।
शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । टोली बिहीबार साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात बिताउनेछ ।
चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ’वाइल्ड स्टे विथ चौंरी’ राखिएको छ । कार्यक्रममा क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायतका कलाकार सहभागी छन् ।
कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार ११ देखि १३ असोजसम्म हुने ३ दिने कार्यक्रममा लोक गायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।
कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवाली, आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दुतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ ।
यस किसिमको सहभागीता मूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ । साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरू भएको स्पार्क एड्भेञ्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गरिएको हो ।