नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरेका छन्।
सोमबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले कानुनअनुसार नै आममाफी दिइएको बताए।
‘कानुनले व्यवस्था गरेको र संविधानले दिएको छुटअनुसार यति वर्ष जेल सजाय भोग्यो भने, जेलरले चालचलन सुधारका कुरासहित सिफारिस गरेमा छुट्ने पनि छन्,’ उनले भने, ‘केही घटना प्रकृतिका कारणले मानवीय संवेदनालाई छोएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक भए। केही केसमा केही विषयहरू पनि आए। अहिले पाँच/छ सय मुद्दा मिनाहा भएका छन्। त्यो सबै संविधान र ऐनले दिएको सुविधाअनुसार नै भएका छन्।’
सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने व्यवस्था रहेको उनले बताए। ‘आममाफीका केही विषय छलफलका विषय छन्,’ उनले भने, ‘व्यक्ति-व्यक्तिमा म गइनँ।’
केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले दिएका केही आममाफीका विषयमा असन्तुष्टि जनाएका थिए।
बाँकेका योगराज ढकाल (रिगल) लाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा आममाफी दिएका थिए।
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका 'रिगल' भनिने ढकाललाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो।
यो पनि: मृतक चेतनकी श्रीमती राष्ट्रपतिसँग सोध्न चाहन्छिन्– हत्यारालाई माफीको अर्थ के हो?