यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
काठमाडौं । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको पर्यटन प्रवद्र्धनका लागि कलाकार जुट्ने भएका छन् । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको यो थलोको प्रचारका लागि कलाकार कस्सिएका हुन् ।
पर्यटन प्रवद्र्धनको लागि ‘स्पार्क एड्भेन्चर २०२३’ले शैलुङमा ‘वाइल्ड स्टे विथ चौंरी’ कार्यक्रम आयोजना गरेको छ । जहाँ कलाकारहरु निखिल उप्रेती, विजय लामा, प्रेमराजा महत, गरिमा शर्मा, यशकुमार, सन्दीप क्षेत्री, लेखक बुद्धिसागर लगायतले सहभागिता जनाउने भएका छन् ।
कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका प्रतिनिधि पनि सहभागि हुनेछन् ।
असोज ११ गते बिहान काठमाडौँदेखि सैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौँरी गोठ र सैलुङलाई ’एक्सप्लोर’ गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्य पत्ता लगाउने इच्छा भएका सहभागीले भाग लिनेछन् ।
साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । गत वर्ष लमजुङको भुजुङमा भीर मौरीको सिकार गरेर सुरु भएको एड्भेन्चरको दोस्रो संस्करण शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।