Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पर्यटन दिवसमा पोखरामा हाइकिङ, साँझ सडक महोत्सव

४४ औं विश्व पर्यटन दिवसको अवसरमा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पोखरामा एक दिने हाइकिङ गरेको छ। 

फेवाताल आसपास पदमार्ग निर्माण र पदयात्रा प्रवर्द्धन गर्न एक दिने हाइकिङ गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए। 

फेवातालको जलाधार क्षेत्र मार्गी गाउँबाट सुरू भएको हाइकिङ सिम्ले, पात्ले हुँदै पुम्दीकोट पुगेर सम्पन्न भएको थियो। 

हाइकिङमा गण्डकीका सांसद प्रकाश बराल, नीति तथा योजना आयोगका उपाध्यक्ष  कृष्णचन्द्र देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव विनोद कुँवर, प्रदेशको अर्थसचिव विष्णुप्रसाद शर्मा लगायत व्यवसायीको सहभागिता थियो। 

हाइकिङ पश्चात पुम्दीकोटमा आयोजित कार्यक्रममा प्रदेश सांसद बरालले फेवाताल वरिपरि पदमार्ग निर्माण गर्न लागिएको बताए। ताल संरक्षण गर्दै पर्यटकीय सम्भावना उजागर गर्नुपर्ने उनले बताए। 

योजना आयोगका उपाध्यक्ष देवकोटाले प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माण गरिरहेको भन्दै फेवाताल केन्द्रित पर्यटकीय पूर्वाधार बनाउन ध्यान दिने बताए। प्रदेशले नयाँ पदमार्गको खोजी गरिरहेको भन्दै उनले छोटो तथा लामो पदमार्ग निर्माण र प्रवर्द्धनमा प्रदेशले योजना बनाउने बताए।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले फेवाताल आसपास पदमार्ग निर्माण गर्न सके पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने धारणा राखे।

गण्डकीका पर्यटन सचिव कुमानसिंह गुरूङले पर्यटनलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। अहिले पनि कर्मचारीलाई पर्यटन बिदा दिएर घुम्न पठाउने गरेको भन्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।

The web
The web

पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा युवाको अभाव हुन थालेको बताए। 

गाउँ गाउँमा पर्यटन प्रवर्द्धन गर्न युवा जनशक्तिको आवश्यक पर्ने भन्दै उनले पदमार्ग निर्माण गरेपछि मोटर बाटो बनाउने प्रवृत्ति बढेको बताए।

दिवसका अवसरमा बुधबार साँझ लेकसाइडमा सडक महोत्सव हुँदैछ। रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा एक दिने मिनी सडक महोत्सव आयोजना गरिएको हो। 

महोत्सवमा लेकसाइडको बाराहीघाटदेखि खहरेसम्मका सडकमा यातायात रोकेर सडकमै खाऊँ, सडकमै रमाऊँ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराइले बताए।

महोत्सवका अवसरमा पोखरा पर्यटन परिषदले बुधबार पोखरा आउने पर्यटकको स्वागत गरेको छ भने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटक बसपार्कमा वृक्षरोपण र रक्तदान कार्यक्रम गरेको छ।