Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पदकको भिडन्तमा सरस्वती चुक्दा बक्सिङमा पनि रित्तो हात

हाङझाउ एसियाली खेलकुदमा नेपाल बक्सिङबाट पनि पदकविहीन बनेको छ। आज हाङझाउ जिम्नाजियममा नेपालकी सरस्वती राना पनि पराजित हुँदा नेपाल बक्सिङबाट पदकविहीन बनेको हो।

आज भएको ७५ केजी मुनी तौल समूहमा सरस्वती भियतनामकी लु क्विइनसँग ४-१ ले पराजित हुँदा सरस्वती सेमिफाइनल पुग्न असफल भइन्। 

यो खेल जितेको भए कम्तिमा कास्य पदक पक्का हुने थियो। तर सरस्वती भियतनामकी खेलाडीसँग अंकको आधारमा पराजित भइन्। पहिलो राउन्डमा राम्रो खेले पनि उनी तेस्रो राउन्ड पुग्दा कमजोर देखिएकी थिइन्।

379632201_650566120588359_6801947463464532524_n-1696076411.jpg

नेपालबाट बक्सिङमा यसपटक १३ खेलाडी सहभागी भएकोमा यसअघि रबिना थापाले एक बाउट जितेका थिए। उनले इन्डोनेसियाका खेलाडीलाई ४-१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका थिए। तर अन्तिम १६ मा उनी उत्तर कोरियाका खेलाडीसँग पराजित भए।

यी बाहेक नेपालका अरु बक्सर आफ्नो पहिलो बाउटमै पराजित भए।

एसियाली खेलकुदमा नेपालले बक्सिङबाट ६ पदक जितेको छ। ती सबै ६ पदक कास्य हुन्। तेक्वान्दोपछि बक्सिङ एसियाली खेलकुदमा नेपालको सफल खेल हो।

पछिल्लोपटक सन् २०१० को ग्वाझाउ एसियाली खेलकुदमा दिपक महर्जनले बक्सिङबाट कास्य जितेका थिए। सो पदक नै नेपालको सो एसियाली खेलकुदको एकमात्र पदक भएहुँदा नेपाल पदकविहीन हुनबाट जोगिएको थियो। 

The web
The web

सन् १९५१ को पहिलो एसियाली खेलकुददेखि नै भाग लिएको नेपालले १९८६ को एसियाली खेलकुददेखि पदक जित्न थालेको थियो। १९९६ को सोल एसियाली खेलकुदमा नेपालले बक्सिङबाट ४ कास्य जितेको थियो।  

नेपालका दलबहादुर रानामगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले बक्सिङबाट कास्य जितेका थिए। यस्तै १९९० को बेइजिङ एसियाली खेलकुदमा नेपालका चित्रबहादुर गुरुङले कास्य जित्न सफल भएका थिए।

२० वर्षपछि दीपक महर्जनले बक्सिङबाट नेपालका लागि एसियाली खेलकुदमा कास्य जितेका थिए। त्यसयता नेपाली बक्सिङ खेलाडी एसियाली खेलकुदमा असफल हुँदै आएका छन्।