यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
१० असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नख्खुखोला पुलमा निर्माण हुने पुलको शिलान्यास गरेका छन् ।
बुधबार एक कार्यक्रमका बीच ललितपुर महानगर–१४ स्थित नख्खुखोला पुलमा निर्माण हुन लागेको पुलको शिलान्यास मेयर महर्जनले गरेका हुन् ।
साविकका गाविसहरुलाई चक्रपथ भित्रका वडासँग जोड्न पुल निर्माणको काम थालेको महानगरले जनाएको छ ।
नख्खुखोलामा ४ करोड रुपैयाँ लागतमा निर्मााण हुन लागेको पुलले महानगरको वडा नम्बर १४ र वडा नम्बर २५ लाई जोड्नेछ । यो पुल १८ महिनामा निर्माण सम्पन्न हुने महानगरले जनाएको छ ।
पुलको शिलान्यास गर्दै मेयर महर्जनले चक्रपथभित्रका वडा जोड्न महानगरले यसअघि दुईवटा पुल निर्माणको काम थालेको बताए ।
‘सुनाकोठी र कुसुन्तीमा निर्माणसम्पन्न हुँदै गरेका पुल र यो पुलले कनेक्टिभिटीमा धेरै महत्व राख्छ, आवतजावत सहज हुन्छ,’ उनले भने ।
महर्जनले बुङमतिका नगरवासीलाई पुल्चोक आउन पुग्न यो पुल हुँदै आउँदा छिट्टै आइपुग्ने जानकारी दिए ।
तोकेको समयमा नै काम सक्न निर्माण कम्पनीलाई अनुरोध गर्दे उनले समयअघि नै काम सके पुरस्कार दिने बताउँदै काम नसक्दा दण्ड जरिवाना गराउने समेत चेतावनी दिए ।
ललितपुर महानगरले यसअघि सुनाकोठी र कुसुन्ती निर्माण सुरु गरेको पुल करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । यी दुई पुलको निर्माण डेढ वर्षअघि सुरु गरिएको थियो ।
सुनाकोठीमा निर्माण भएको पुलले वडा नम्बर २२ बुङमतिलाई जोड्छ भने कुसुन्तीमा निर्माण भएको पुलले वडा नम्बर २५ र १८ लाई जोड्छ ।
ग्वार्को र हात्तीवनमा पुल निर्माणका लागि अध्ययनका महानगरले बजेट विनियोजन गरेको छ ।