काठमाडौं महानगरपालिकाले अभियन्ता ईः लगायतसँग आजै वार्ता गर्ने भएको छ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अघि उभिएका ईः लगायतसँग मंगलबार दिउँसो साढे दुई बजे वार्ता बस्ने सहमति भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
'अहिले भर्खर ईःसँग बैठक गरियो। आजै दिउँसो साढे दुई बजे वार्तामा बस्ने सहमति भएको छ,' उनले सेतोपाटीसँग भने।
यसअघि महानगरले ईः लगायतसँग वार्ता गर्न समिति गठन गरेको थियो।
आज बिहान मात्रै महानगरकी उपप्रमुख सुनिता डंगोलले ईःलाई राष्ट्रिय सभा गृह अगाडि भेटेर कुराकानी गरेकी थिइन्।
उपप्रमुख डंगोलले मानवीय संवेदनाका हिसाबले ईः लाई भेटेको बताएकी थिइन्। ‘ईः लगायत केही दिनदेखि आफ्नो माग पूरा गर्नुपर्छ भनेर आन्दोलनमा हुनुहुन्छ,’ उनले भनिन्, ‘मैले उहाँहरुलाई भेट्नुको उदेश्य मानवीय हिसाबले जे भइरहेको छ, त्यो संवेदनशील छ भन्ने मनन गरेर हो।’
उपमेयर डंगोलले जनताका कुरा तर्कसंगत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै सबैका कुरा सुन्नुपर्ने बताइन्। ‘उहाँहरूको कुरा सुनेँ,’ उनले भनिन्, ‘महानगरको उपप्रमुखको हैसियतले भन्नुपर्दा उपप्रमुखको कार्यकारी भूमिका छैन। त्यसैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्ने मेरो कार्यकारी जिम्मेवारी छैन। मैले गर्न सक्ने भनेको समन्वय मात्र हो।'
यो पनि: ६ दिनदेखि उभिएर बालेनलाई बाचा सम्झाइरहेका ईः