नेकपा एमालेको कार्णली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र हुँदैछ।
बिहान ८ बजेदेखि बन्द सत्र सुरु गर्ने भनिएपनि आन्तरिक तयारी नपुगेकाले १० बजेपछि मात्र सुरु गरिने एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महाताराले बताए।
बन्द सत्रको तालिका र छलफलका एजेण्डाहरुको तयारीबारे बिहानैदेखि छलफल सुरु भइसकेको उनले बताए।
बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए। महासचिव शंकर पोखरेल पनि उद्घाटन सत्रमा सहभागी थिए।
आजको बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। बन्द सत्रबाटै प्रदेशका ५ जना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी चयन गर्नेछ।
नेतृत्वका विषयमा भने अहिलेसम्म छलफल सुरु नभएको प्रदेश कमिटी सचिव टेकराज पछाईले बताए। ‘ईच्छा प्रकट गर्न खोज्नुभएको नेताहरुले आ–आफ्नो तर्फबाट छलफल थाल्नुभएको होला, सामूहिक रुपमा छलफल भईसकेको छैन,’ उनले भने।
पछाईले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भईरहेको बताए। यदि निर्वाचन गर्नुपर्ने अवस्था आएमा बन्द सत्रका अरु कार्यक्रम सकाएर निर्वाचन आयोगलाई जिम्मा दिईने उनले बताए। पछाईका अनुसार निर्वाचन गर्नुपर्ने अवस्था आए आजै बेलुकादेखि मनोनयन दर्ताको काम सुरु हुनेछ।
उद्घाटन सत्रलाई सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले पनि सहमतिका आधारमा सर्वसम्मत् नेतृत्व चयन गर्ने अधिकतम प्रयास गर्न निर्देशन दिएका छन्। उनले गुटगत रुपमा उम्मेदवार नबन्न पनि नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेशको आगामी नेतृत्वका लागि उपाध्यक्ष लालबहादुर महतारा, मीनबहादुर शाही, ध्रुवकुमार शाही र राजबहादुर शाही लगायतको चर्चा छ। यद्यपि उनीहरुले भने आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन्।
कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्यहरु गोरख बोगटी र यामलाल कँडेलको समूह बन्ने आँकलन पनि गरिएको छ।
एमाले कर्णालीको प्रदेश कमिटी २ सय ४२ सदस्यीय रहेको छ। कमिटीका पदाधिकारीसहित १३५ जना पहिलो चरणमा चुनिनेछन्।