यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
८ असोज, काठमाडौं । साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीलाई मार्की खेलाडी बनाएको छ । जसका लागि धनगढी एफसी र आशिषबीच सम्झौता पनि भइसकेको छ ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढी पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो ।
धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीको रुपमा अनुबन्ध गरेको हो ।
नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका २३ वर्षीय आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेलेका थिए । उनले क्लबलाई लिगको बनाउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।
सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन् ।
बैंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानबिरुद्ध नेपालले १-० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए ।
मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले खुशी व्यक्त गरेका छन् ।
‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियो। यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौं,’ उनले भने, ‘अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरुलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौं । आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु ।’
यस्तै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको प्रतिक्रिया दिए ।
‘नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको उर्जा झनै बढेको महसुस भएको छ । धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं । यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं,’ शाहीले भने ।