Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

भारतमा घातक निपा भाइरस ! नेपाल कति जोखिममा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

लामो र खुल्ला सिमानाको कारण भारतमा सरुवा रोग फैलँदा नेपाल पनि जोखिममा पर्ने अथवा पर्दै आइरहेको विगतका अनुभव छन्। केही दिन अगाडि भारतमा निपा भाइरस पुनः देखा परेको र केहीको मृत्यु समेत भएको छ।

हुनत, यो भाइरस भारतमा पहिलो पटक देखिएको होइन तर यसको उच्च घातकता र वर्षेनि जसो देखिंदै गर्दा ढिलो–चाँडो यो भाइरस भौगोलिक विस्तार हुनसक्ने (फैलँदै जान सक्ने) चिन्ता र चासो विशेषत: स्वास्थ्य क्षेत्रमा भएको देखिन्छ।

निपा भाइरसको प्राकृतिक तथा प्राथमिक स्रोत चमेरो मानिन्छ। चमेरोको सो प्रजाति नेपालमा पनि रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। नेपालमा पाइने चमेरोमा निपा भाइरस सम्बन्धी अनुसन्धानहरु भएको भने देखिंदैन।

यसर्थ निपा भाइरसको जोखिमबाट हामी कति टाढा वा नजिक भनेर जोखिमको मापन गर्न त्यति सहज भने देखिंदैन। भारत तथा बंगलादेश जस्ता देशहरुमा चमेरो र मानिस बीचको दुरी विभिन्न कारणले नजिक हुँदा चमेरोको शरीरको तरल पदार्थ जस्तै र्याल वा पिसाब लागेको फलफूलहरुको प्रयोगले मानिसमा निपा भाइरसको संक्रमण हुने अनुमान गरिएको छ।

तर पहिलो पटक निपा भाइरस सन् १९९९ मा मलेसियामा देखिंदा भने सुँगुरपालक कृषकहरु संक्रमित भएका थिए। अर्थात् संक्रमित सुँगुर मार्फत पनि मानिसमा यो भाइरस फैलिने देखाउँदछ।

शेरबहादुर पुन ।

नेपालमा सुँगुर पालन एक लोकप्रिय कृषि व्यवसाय हो। तसर्थ सम्बन्धित निकायले नेपालमा पालिएको सुँगुरमा निपा भाइरसको सम्भावना के कस्तो छ भनेर चासो, अध्ययन र निगरानी गर्न उपयुक्त देखिन्छ।

नेपालमा सामान्यत: चमेरोको वासस्थान समुदाय भन्दा टाढा जस्तै गुफा वा ओडारमा हुने र मानिसहरु त्यस्ता ठाउँतिर कम जाने हुनाले भारत तथा बंगलादेशमा जस्तो चमेरो-मानिसको सामीप्यको कारणले निपा भाइरस संक्रमित हुने सम्भावना भने कम देखिन्छ।

सन् २००१ मा भारतको सिलिगुडीमा मानिसबाट मानिसमा निपा भाइरस सरेको भनिएको थियो। संक्रमित मानिसबाट मानिसमा निपा भाइरस सर्नु नै हाम्रो लागि चिन्ताको विषय बनेको हो। यो घटना भन्दा अगाडि जनावर वा चमेरोको सामीप्यमा रहँदा निपा भाइरस फैलिने गरेको देखिएको थियो भने सिलिगुडी घटनाले मानिस-मानिस बीच पनि सहजै सर्ने देखियो।

संक्रमित भएको ४ देखि १४ दिनसम्ममा अधिकांशमा निपा भाइरसका लक्षणहरु देखिने गर्दछ। सुरवातीमा फ्लुको जस्तो लक्षणहरु जस्तै ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ/मांसपेशी दुख्ने, बान्ता हुने देखिने गर्दछ।

तर लक्षणहरुले निरन्तरता पाएमा भने यो भाइरसले कडा स्वरुप एनकेफ्लाईटिस (मस्तिष्क सुजन) अथवा मस्तिष्क/स्नायु सम्बन्धी समस्याहरु लिन सुरु गर्दछ। अनि २४ देखि ४८ घन्टामा मानिस अचेत अवस्थामा पुग्ने गर्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार १० संक्रमित मध्येमा ४ देखि ७ जनासम्मको मृत्यु हुने गर्दछ। तसर्थ यो उच्च घातक भाइरसको रुपमा लिन सकिन्छ। यसको विशेष एन्टिभाइरल औषधि वा खोपको विकास भने भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनले भविष्यमा महामारी वा प्यान्डेमिक स्वरुप लिन सक्ने संक्रामक रोगहरुको सूचीमा निपा भाइरसलाई पनि समावेश गरेको छ। सम्भवत: मानिस-मानिस बीच यसको सहज प्रसारण र उच्च घातकताको कारणले यो भाइरसलाई सम्भावित तथा चुनौतीपूर्ण सरुवा रोगहरुको सूचीमा राखिएको हुनुपर्दछ। छिमेकी देश भारतमा यो भाइरसले बारम्बार कम्ब्याक गरिरहँदा नेपालको लागि पनि चुनौती हुनसक्ने र तत् अनुसार विशेष योजना तयार गर्नुपर्ने देखिन्छ। यो भाइरस हाल भारतको केही ठाउँमा सीमित भए जस्तो देखिए तापनि ढिलोचाँडो अरु ठाउँहरुमा फैलँदै जान सक्ने अवस्थालाई पनि नकार्न भने सकिंदैन।

अन्त्यमा, केही वर्षयता भारतमा बारम्बार निपा भाइरस देखा पर्नु, नेपाल-भारत खुला र लामो सिमाना हुनु, सम्भावित महामारी वा प्यान्डेमिकको स्वरुप लिन सक्ने संक्रामक रोगहरुको सूचीमा यो भाइरस समावेश हुनु, र भाइरसको प्राथमिक स्रोत मानिएको चमेरोको प्रजाति नेपालमा पनि हुनुले निपा भाइरसको जोखिमलाई पूर्ण रुपमा नजरअन्दाज वा बेवास्ता गर्न भने मिल्दैन।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।