बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ।
राप्ती सोनारी गाउँपालिका–२ स्थित अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको हो। यो क्षेत्र डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्ने गर्छ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले मंगलबार बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला परेको सेतोपाटीलाई बताए।
मरेको बाघ बुधबार बिहान १ बजेतिर डिभिजन वन कार्यालयमा ल्याई पुर्याइएको कर्णले जानकारी दिए।
कर्णका अनुसार मृत फेला परेको बाघ उमेर पुगेको हो। बाघको सरदर आयु १८ वर्षसम्म हुने भन्दै कार्यालय प्रमुख कर्णले मरेको अवस्थामा फेला परेको बाघको उमेर बुढो देखिएको जानकरी दिए।
बाघले केही दिन स्थानीय गाउँले पालेका गाई, गोरु, भैसी, राँगा र बाख्रा मार्दै आएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कर्णले बताए। बाघ बुढो भएपछि सहज आहाराको खोजीमा लाग्ने र त्यस क्रममा यो बाघ गाउँ बस्तीमा प्रवेश गरेको हुन सक्ने उनले बताए।
बाघ मानव बस्तीदेखि करिब साढे दुई सय मिटरभित्र जंगलमा फेला परेको थियो।
प्रमुख कर्णले मृत अवस्थाको बाघ मर्नुको कारण पोष्टमर्टमपछि मात्रै भन्न सकिने बताए।
पोष्टमर्टमका लागि भेटनरी डाक्टरसँग कुरा भइरहेको उनले जानकारी दिए।
सरसर्ती नियाल्दा मरेको बाघको शरीरमा कुनै चोट पटक नदेखिएको पनि उनले जानकारी दिए।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले पनि मृत फेला परेको बाघ बुढो र अशक्त देखिएको जानकारी दिए।
‘यसको पेट खाली छ। शिकार गर्न नसक्ने भएरै उसले स्थानीयले पालेका पशु चौपायालाई शिकार बनाउन थालेको हुनुपर्छ,’ उनले भने, ‘यो बाघ रोग वा भोक के कारणले मरेको हो भन्ने कुरा पोष्टमर्टमपछि भन्न सजिलो हुन्छ।’
उनले मरेको बाघको उमेर झन्डै १६ वर्षको जस्तो देखिएको पनि अनुमान गरे।